काठमाडौँ, ३ असार : खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताउनुभयो । उहाँले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराउनुभयो । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले नै गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पानी घरघरमा पुग्ने कुरामा शङ्का गर्नुपर्ने अवस्था छैन ।”
सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निरास बनाएको उहाँको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको उहाँको भनाइ थियो । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको मन्त्री मगरले बताउनुभयो । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै चुनौती भए पनि आगामी आवको शुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।”
मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताउनुभयो । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उहाँको भनाइ छ ।
खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलका क्रममा रहेको र यसै अधिवेशनबाट पारित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले तय गरेको १५औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकामा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पु¥याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पु¥याउने गरी बजेट विनियोजन गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन हुने बताउनुभयो ।