प्रधानमन्त्री केपी ओलीले राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफू दुवै पद त्याग्ने पक्षमा नरहेको बताएका छन् ।
नेकपाभित्रको शक्ति संघर्षले पार्टीभित्र विभाजनसम्मको खतरा देखिएपछि शनिवार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको बिस्तारित बैठक राखेर पार्टीभित्रको संकटबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिन तपाईंहरुले पनि गर्नुहुन्न’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्री डा. शिवमाया तुम्बाहम्फेले भनिन्,‘उहाँले यदी राष्ट्रियता जोगिन्छ,
कम्युनिष्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिष्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर कमजोर हुन्न दिन्न भन्नुभएको छ ।’
ब्रिफिङअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँग भेटर्वार्ता गरेका थिए ।’ बैठकमा महिला बालबालिका, समाजकल्याण तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मात्र केही भनाई राखेका थिए ।
उनले केन्द्रीय सचिवालय र स्थायी समिति दुवै पार्टी एकता जोगाउन असक्षम हुँदै गएको भन्दै जुनसुकै मूल्य चुकाएर भए पनि केन्द्रीय कमिटीले पार्टी एकता जोगाउने धारणा राखेका थिए ।