काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको छ । थापा पछिल्लो समय मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका थिए । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।
को हुन् थापा ?
२३ मंसिर २०२५ मा भक्तपुरको कटुञ्जेमा जन्मिएका थापा पूर्वडीआईजी शम्भु थापाका छोरा हुन् । उनी संगठनभित्र व्यवसायिक एवं इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेदेखि थापाले अधिकांश बढुवामा आफूलाई पहिलो नम्बर वरियताको अधिकृतका रुपमा उभ्याउँदै आएका थिए ।
नेपाल प्रहरीमा चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको छ । यसअघि डिआईजीपी बाट नै सिँधै आईजीपी बन्ने संयोग मिल्दै आएको थियो । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरियो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए । नवनियुक्त आईजीपी थापासँग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ । थापाले प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत एवं प्रशासन विभागमा एआईजीका रुपमा काम गरेका छन् । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।
पूर्वडीआईजीका छोरा
आईजीपीमा नियुक्त भएका थापा २३ मंसिर २०२५ मा भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन् । बुबा शम्भु थापाका कान्छा छोरा शैलेशका दाजु कर्मचारी सञ्जय कोषमा कार्यरत छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाका बुबा शम्भु नेपाल प्रहरीकै अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हुन् । बुबाकै प्रेरणाले थापा संगठनमा प्रवेश गरेका हुन् । प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा फौजमा प्रवेश गरेका उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन् ।
तत्कालीन समयमा लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा उनी पहिलो नम्बरमा थिए । त्यसयता हरेक पदमा बढुवा हुँदा उनले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल भएका छन् । राजनीतिक पहुँच र लबिइङमा कमजोर मानिने उनी इमान्दार भएकै कारण वरियतामा संगठनले माया गरेको अधिकृतका रुपमा चिनिन्छन् । सरकारले ६ कात्तिक २०७५ मा थापालाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको नेतृत्व सुम्पियो । जहाँ उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सत्तारुढ दलका अन्य नेतासँग सुमधुर सम्बन्ध बनाउने अवसर थियो । तर, थापाले त्यतातिर ध्यान दिएनन् । गृह मन्त्रालयका अधिकारीहरु त्यसवेला थापाले राम्रो अवसर गुमाएको बताउँछन् । तर, राजनीतिक दलका नेतासँगै खासै अनौपचारिक सम्बन्ध नराख्ने थापाको यही स्वाभावलाई मन पराउने पनि थुप्रै छन् ।
उनको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् । इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् भने एकडेमी र सचिवालयमा पनि बसेका छन् । प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि उनी बोस्निया, इस्ट टिमोर र डार्फर (सुडान) गएका छन् ।
निवर्तमान आईजीपी ज्ञवालीजस्तै थापा पनि संगठनमा रहँदा त्यति धेरै चर्चामा आएका अधिकृत होइनन् । थापाको नेतृत्व अहिलेसम्म विवादमा पनि परेको छैन । झापामा रहँदा थापाले १५ करोड रुपैयाँ पर्ने जग्गा हडप्न भएको अ पहर णमा संलग्न एउट हाई–प्रोफाइल गि रोहको पटाक्षेप गरेका थिए । जसमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) का स्वकीय सचिव राजु आचार्य (अग्नि) समेत संलग्न थिए । थापा झापामा प्रहरी प्रमुख थिए ।