काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमले केपी ओली र माधव-प्रचण्ड समूहका भेला पार्टी फुटाउनका लागि भइरहेको बताएका छन्। उनले आफू फुटको साक्षी बस्न कतै पनि नजाने उद्घोष पनि गरेका छन्।
सोमबार विज्ञप्ति जारी गरी उनले संसद भंग गैरसंवैधानिक कदम हो भन्दै विरोध गरेका छन्। तर, उनले आफू दुवैतिरका भेलामा उपस्थित नहुने जनाएका छन् । अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरें,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
गौतमले आफू फेरि पनि पार्टी एकताको पक्षमा रहेको र अर्को निर्णय नहुँदासम्म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमा रहेको बताएका छन् ।‘क. केपी ओलीले गरेको भेला होस् वा अरू कमरेडहरूले गर्नुभएको भेला नै किन नहोस् ।
ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन्,’ उनले भनेका छन्, ‘म फुटको साक्षी बस्न सक्दिनँ। म यो पार्टी एकीकरण गराउ नेमध्येको नेता हुँ। त्यसैले अहिले पनि एकताको पक्षमा छु।’
उनले मन्त्रिपरिषद्ले संसद भंग र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नु भन्न चाहेको बताएका छन्। ‘तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन ।
त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ( यदि उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। उहाँले यसलाई एकपटक मन्त्रिपरिषदमै फर्काइदिन उपयुक्त हुन्छ। यसका निम्ति मेरो विनम्र अनुरोध छ।’
तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत् मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गरेको समाचार थाहा पाएपछि त्यो दुःखद् घटना हो भन्ने निष्कर्षमा आफू पुगेको उनले बताएका छन्।
त्यसपछि संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गैरसंवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरें,’ गौतमले भनेका छन् ।प्रहार न्यूज
