काठमाडौं- माइतीघरले विरोध र असन्तुष्टिको आवाज धेरै सुन्यो। स्वार्थको आँधी कति हेर्यो। दुःखको साक्षी धेरैपटक बस्यो। कति आवाज त्यहीबाट सत्ताको स्वर बन्यो। कति आवाज त्यहीँ सत्ताको तारो बन्यो। ती आवाज त्यहीँबाट विलीन भए। उसैगरी शुक्रबार एकैसमय माइतीघरमा भिन्न तीन आवाज सुनियो। दबाइएको आवाज। दबाउन नपाइएको आवेगको आवाज। पीडाको आवाज। त्यसमा चर्कनुपर्ने आवाज कुन थियो कसले छुट्याउने? झट्टै पूरा हुनुपर्ने आवाज कसले चिन्ने?
संसद विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेता माइतीघरमा धर्नामा बसे। तीन पूर्वप्रधानमन्त्री र अरु दर्जन बढी पूर्वमन्त्री सत्ता स्वार्थको घृणित खेलबाट सडकमा पुगेका थिए। संविधान, नियम र पार्टी राजनीतिको घुमाउरो भाषामा जे-जे भनिए पनि उनीहरुको आन्दोलन सत्तामा भएर पनि सत्ताबाहिर हुनुपरेको आक्रोश न हो।
माइतीघरमा धर्नामा प्रचण्ड–नेपाल समूहका नेताहरु।
उखु किसानले उखु बेचेको भुक्तानी दिलाइदिन माग गर्दै माइतीघरमा आन्दोलन गरेको १४ दिन भइसक्यो। शुक्रबार पनि उनीहरु त्यहीँ थिए। उसैगरी सरकार गुहारिरहेका थिए। सरकारले गएको वर्ष नै उखु बेचेको बक्यौता रकम दिलाउने सहमति गरेको हो। तर वर्ष दिन बित्दा पनि सरकारको सहमति कार्यान्वयन भएन।
त्यहीँ थिए अयोग्य भनिएका माओवादी सेनाका पूर्वयोद्धाहरु। उनीहरुले अझै अयोग्य भनेर लखेटिएको किन हो भन्ने प्रश्नको जवाफ खोजिरहेका छन्। जसले देखाएको सपनामा रहरले होस् या जसको आदेशले डरमा, धम्कीमा करकापमा उनीहरु बन्दुक बोक्न तयार भएका थिए, उनै सत्ता घुमेर सडकमा आइपुगेका थिए। जुन सडकमा उनीहरु निरन्तर छन्।
पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका नेताहरु ‘हामी यहाँ छौँ’ लेखिएका प्लेकार्ड बोकेर धर्नामा थिए। तर सर्वहाराको मुक्तिका लागि सत्तामा बढेका कमरेडहरुले त्यही भएका किसान देखेनन्। आफ्नै ‘सत्ता प्राप्तिका लागि मुक्तिको युद्ध’ लडेका योद्धा देखेनन्। अयोग्य भनिएका जनमुक्ति सेनाको जीवन यापनको निश्चितता हुनुपर्ने मागसहितको धर्नालाई शीर्ष नेताको विरोध सभाले चिनेन। यो समाचार नेपाल लाइभ बाट साभार गरिएको हो |