काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । र, केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उनले दाबी गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गरे । उनले भने ‘उहाँ मिलेर नै चुनावमा जानुहुन्छ, उहाँहरु नमिली सुखै छैन् । पार्टी फुट्दैन् । वामदेव गौतमको एकता प्रस्ताव पनि सकारात्मक छ, तर यो प्रस्तावले पार्टी एकता हुने सम्भावना छैन् । उहाँले पनि प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ ।’
साक्षात्कारमा बोल्दै उनले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरे । उनले भने ‘चुनाव त एक सय प्रतिशत हुन्छ । म मित्रहरुलाई भन्न चाहन्छु कि चुनावका लागि हामी त तयारीमा जुटिसक्यौं । तपाईहरु पनि जुट्न्होस । हामी अदालतको निर्णय मान्छौं । संसद पूनःस्थापना भनेको पनि उहाँ प्रधानमन्त्री ओलीनै प्रधानमन्त्री बन्ने हो । यदि निर्वाचनको हकमा पनि निर्णय लियो भने हामी आत्मसात गर्छौं । संवैधानिक इजलाशको निर्णय पर्खेर बसेका छौं । छिटोभन्दा छिटो इजलाशबाट निर्णय आउँछ ।’
उनले नेकपा एकता हुँदाको बेला नै सही तवरले नभएको गुनासो पोखे । उनले विगत सम्झिँदै भने ‘हाम्रो पार्टीको एकता जुन प्रकारले सुरु भयो, त्यो राम्रो तवरले भएको भए दुर्घट्ना हुने थिएन् । एकता प्रक्रियाको धेरै कुरा मलाई थाहा छ । नेकपाका दोस्रो अधयक्ष प्रचण्डले जुन राजनिितक अभियोगपत्र भन्नुभयो, त्यसमा पनि यो एकता प्रक्रिया फलानोको भरमा, फलानोलाई साक्षी राखेर भन्नुभएको छ । एकता प्रक्रियामा सूर्य छापमा चुनाव लड्ने भन्ने सहमति थियो, तर त्यो सहमति २४ घण्टा नबित्दै सूर्य छापमा चुनाव लडे राम्रो हुँदैन भनेर हाम्रै पार्टीका नेताहरुले भनेर प्रचण्डजी ब्याक हुनुभयो ।’