भदौ – ३० काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण आजपनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि मुख्य कार्यसूचीमा प्रवेश नै नगरी असोज ५ गतेसम्मका लागि बैठक स्थगित गरीएको हो ।
राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको थियो ।
यस्तैगरीे प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको थियो ।
एमाले सांसदहरुले अवरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बैठकमा कार्यसूचीको मुख्य दुई विषयलाई हटाएर शोक प्रस्ताव पारित गर्नुभयो ।
बैठकमा संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरीएकोे हो ।