काठमाडौं, ७ असोज । वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुहुने छ ।
त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सार्नु भयको थियो। सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको थियो ।
राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउनु हुने छ । नेपालमा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन ।
अहिले संवैधानिक अङ्ग तथा निकायहरू संघीय सञ्चित कोषमाथि हुने व्ययभार बाहेक नेपालमा अन्य खर्च रोकिएको छ । तर, दुवै सदनले बजेट पारित गरेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुनासाथ खर्च अवरोध हट्नेछ ।