काठमाडौँ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण रहेको छ
आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ९६१.८८ लागत पर्ने देखिएको छ । निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मट्टितेलको रु ११३, आन्तरिक हवाई इन्धनको रु ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु एक हजार ४५० तोकिएको छ ।
उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७।०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था रहेको छ । निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै रु एक अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनु भयो । प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ । निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य केही घटेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक रु ८४ करोडको हाराहारीमा झारेको थियो । तर, आइओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ ।
सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७.१४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६.९७ रुपैयाँ, पेट्रोलमा ४.०९ रुपैयाँ र मट्टितेलमा ३.५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५.६९ रुपैयाँले बढेको निगमले जनाएको छ ।