काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको बताएका छन् । आइतवार एक कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताएका छन् ।यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताएका छन् ।
दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिएका छन् । फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनको भनाई रहेको छ । उनले भने, ‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुन सम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ । र क्रमिक रुपमा देशभरी खोप लगाइने जानकारी गराउन चाहान्छु ।’
राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको समेत बताएका छन् ।