काठमाडौं । बेमौसमी अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कम्तीमा सात अर्ब २२ करोड रुपैयाँबराबरको धानबालीमा नोक्सान पुगेको प्रारम्भिक तथ्यांक आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार वर्षाबाट बढी क्षति पुगेका तीनवटा प्रदेशमा मात्रै सो परिमाणको धानबाली नष्ट भएको हो ।
मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति पुगेको छ । ‘लुम्बिनीका सबै जिल्लामा वर्षाले धानबालीमा असर गरेको देखियो । त्यहाँ लगाइएको धानबालीमध्ये एक लाख ३० हजार हेक्टरमा क्षति पुगेको र त्यसबाट चार अर्ब ५१ करोड रुपैयाँबराबरको नोक्सानी भएको प्रारम्भिक तथ्यांक छ,’ उनले भने । लुम्बिनीका ११ जिल्लामा यो वर्ष तीन लाख १७ हजार चार सय १४ हेक्टरमा रोपाइँ भएको थियो । त्यसमध्ये ३६ हजार चार सय ८० हेक्टरमा किसानले धानलाई काटेर खेतमा सुकाएका थिए । सो धान पानी जमेर तथा बाढी र पहिरोले बगाएर नष्ट भएको छ ।
त्यस्तै, पाल्पामा पाकेर काट्ने वेला भएको ९३ हजार पाँच सय ७६ हेक्टरको धानमा पनि बाढी पसेर क्षति पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाल्पामा पाँच सय ३५ हेक्टर, गुल्मीमा ६ सय ५८ हेक्टर, नवलपरासीमा चार हजार पाँच सय १० हेक्टर, रुपन्देहीमा २४ हजार दुई सय ५८ हेक्टर, कपिलवस्तुमा ३५ हजार चार सय ६३ हेक्टर र दाङमा सात हजार सात सय हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको छ । त्यस्तै, बाँकेमा १७ हजार पाँच सय हेक्टर, बर्दियामा ३५ हजार दुई सय हेक्टर, रुकुम पूर्वमा चार सय १२ हेक्टर, प्युठानमा तीन हजार सात सय ९५ हेक्टर र रोल्पामा २५ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ५५ हजार ५४ हेक्टरमा पाकेको धान भने किसानले सुरक्षित रूपमा कटान गरी घरमा राखिसकेका छन् । सो प्रदेशमा एक लाख ३२ हजार हेक्टरमा लगाइएको धानबाली खेतमै सुरक्षित अवस्थामा छ ।
कृषि मन्त्रालयलाई सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पठाएको तथ्यांकअनुसार वर्षाले एक अर्ब ९१ करोड रुपैयाँको धानबालीमा क्षति पुगेको छ । सुदूरपश्चिममा कुल ५५ हजार हेक्टरमा क्षति पुगेको र त्यसमध्ये पनि १८ हजार हेक्टरमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको प्रारम्भिक अनुमान छ । यसमध्ये प्रदेशमै सबैभन्दा बढी धान उत्पादन हुने दुई जिल्ला कैलाली र कञ्चनपुरको खेतमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा कुल ६८ हजार चार सय मेट्रिक टन धानमा क्षति पुगेको निष्कर्ष छ ।
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पठाएको तथ्यांकअनुसार ८० करोड रुपैयाँको धानबालीमा क्षति पुगेको छ । सो प्रदेशको सबैभन्दा बढी धान उत्पादन हुने झापा, मोरङ र सुनसरीमा बाढीले असर पु(याएको छ । त्यहाँ ४९ हजार नौ सय ४५ हेक्टरमा असर गरेमध्ये सात हजार चार सय ९२ हेक्टरमा लगाइएको धानमा पूर्ण क्षति पुगेको छ ।
उक्त जमिनमा उत्पादन हुने २८ हजार चार सय ६९ मेट्रिक टन धानमा क्षति पुगेको र त्यसबापत ८० करोडको नोक्सानी भएको मन्त्रालयको भनाइ छ । प्रदेश १ मा तीन लाख ३६ हजार हेक्टरमा रोपाइँ भएमध्ये करिब १४ प्रतिशतमा बाढीले असर गरेको प्रारम्भिक अनुमान छ । सुनसरीका तीन किसानको ३९ हजार पाँच सय लेयर्स कुखुरासमेत बाढीले बगाएर क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
बाढीले बढी असर गरेको कर्णाली प्रदेशबाट भने यकिन तथ्यांक आइसकेको छैन । सुर्खेत र जुम्लाको धानबालीमा ठूलो असर गरे पनि सञ्चार सम्पर्कमा कठिनाइ भएकाले तथ्यांक संकलनमा समस्या भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुर्खेतका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए । कर्णालीमा यो वर्ष ३८ हजार हेक्टरमा रोपाइँ भएमध्ये २५–३० प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको उनको भनाइ छ ।
कर्णालीको सबैभन्दा धेरै धान रोपाइँ हुने क्षेत्रफल भएको जिल्ला सुर्खेत हो । सुर्खेतमा यो वर्ष १२ हजार पाँच सय ७१ हेक्टरमा रोपाइँ भएको र वर्षाले करिब ५० प्रतिशत क्षेत्रफलमा लगाएको धानमा क्षति पुगेको मन्त्रालयको भनाइ छ । बागमती प्रदेशमा वर्षाले खासै क्षति नभएको मौखिक जानकारी प्राप्त भएको कृषि मन्त्रालयले जनाएको छ ।