काठमाडौँ । विवेकशील साझा पार्टीमा फेरि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले अलग-अलग केन्द्रीय समितिको बैठक बोलाएका छन् । अध्यक्ष मिश्र पक्षको बिहीबारको बैठकमा हालै सार्वजनिक गरिएको ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अंगीकार गर्ने निर्णय गरेपछि पार्टी फुटको दिशामा गएको छ । संयोजक पाण्डेले भने शुक्रबार आफू पक्षको केन्द्रीय समिति बैठक बोलाएका छन् ।
स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकले निकालेको पाठकले जनाएका छन् ।
अध्यक्ष मिश्रले आफ्नो पक्षको सबै शक्ति आफूमा केन्द्रित गर्ने, आफ्नो व्यवस्थाविरोधी दस्तावेज पारित गर्ने र संवाद समिति आफूअनुकूल बनाएर पश्चगामी शक्तिहरुसँग तालमेल गर्ने बाटोमा हिँडेको संयोजक पाण्डेले आरोप लगाएका छन् । मिश्रले घात गरेको भन्दै शुक्रबारको बैठकमा मिश्रको व्यवस्थाविरोधी दस्तावेज खारेज गर्ने र मिश्रलाई कारबाही गर्ने एजेन्डासहित बैठक डाकिएको छ । एकता महाधिवेशनअगावै मिश्रले गणतन्त्रमाथि प्रश्न गर्दै संघीयता खारेजी र धार्मिक द्वन्द्व फैलाउने विचार व्यक्त गरेको पनि पाण्डेको आरोप रहेको छ ।
पाण्डेसँग वाग्मती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, वाग्मती प्रदेशकी संयोजक रन्जु दर्शना, प्रदेश २ संयोजक अनिमेशकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट, सांसद विराजभक्त श्रेष्ठ, सचिवालय सदस्य पुकार बमलगायत महत्त्वपूर्ण नेताहरुको साथ रहेको छ ।