नेपालगञ्ज । हुम्लाको सिमकोटका लागि उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ।
बिहान करिब ७ बजेतिर चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनु भयो। उहाका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन। सबै यात्रु र चालकदलका सदस्य सकुशल रहेका छन्।
जहाज धावनमार्गमा गुडिरहेका बेला चालकदललाई जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए। जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेको थियो ।
जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ। बँदेलको मासु धावनमार्गभरि छरिएका कारण नेपालगञ्ज विमानस्थलको उडान केहीबेर बन्द गरिएको विमानस्थलका प्रमुख झाले बताउनु भयको छ विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायतका जङ्गली जनावार जहाजसँग ठोक्किने गरेका छन्।