सुर्खेत – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्
।राजीनामा दिँदै गर्दा महेन्द्रबहादुर शाहीले ३ वर्ष ८ महिनाको आफ्नो कार्यकालमा भएगरेका काम कारवाहीको फेहरिस्त प्रस्तुत गरेका छन् । आफू इमानको राजनीतिमात्र गर्ने दाबी गर्दै उनले सत्तासाझेदार नेपाली कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गरेको घोषणा गरेका छन् ।
आफ्नो सम्बोधनमा शाहीले राजीनामा भन्ने कुनै शब्द प्रयोग नगरी सहमतिअनुसार इमान्दारिताका साथ कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गरेको बताएका हुन् ।
निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भावी मुख्यमन्त्री जीवनबहादुर शाही नाताले ज्वाइँ–जेठान पर्छन् ।
दुवैजना शाही ठकुरी हुन् । नाता पर्ने भएकाले दुई शाहीबीचको मित्रता फरक पार्टी भए पनि प्रगाढ रहेको उनीहरुनिकट बताउँछन् ।
‘सायद जीवनबहादुर शाहीका ठाँउमा अरु कोही हुन्थे भने महेन्द्रबहादुर शाहीले सहजै सत्ता हस्तातरण नगर्न पनि सक्थे’, उनीहरुको सम्बन्धबारे जानकार एकजनाले भने, मैले मुख्यमन्त्रीको राजनीतिक इमानमाथि प्रश्न उठाउन खोजेको होइन, खाली उहाँहरुको मित्रताको कुरामात्र गरेको हो ।’