सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात ब्यवस्था कार्यालय सुर्खेतको छड्के निरीक्षण गर्नु भएको छ । सो क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिने क्रममा देखिएका समस्या र समाधानको उपाय बारेमा छलफल समेत गर्नु भएको छ ।
मुख्यमन्त्री शाहीसँग सेवाग्राहीहरूले अनुसूचि फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूचि फारम भर्दा १५ रूपैयाँ मा पाइने फारमलाई १०० रूपैयाँ लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाईनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो समेत गरेका थिए ।
सेवाग्राहीका गुनासा सुनेपछि मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्थालाइ तत्काल मिलाउन, आवश्यक जनशत्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो छ । उहाँले कार्यालय आफैले गर्न सक्ने न्युनतम कामहरू पनि नभएको भन्दै तत्काल सुधार र सेवाका कामहरूलाई अघि बढाउन निर्देशन पनि दिनुभएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाही
मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग पनि छलफल गर्नुभएको छ । मुख्यमन्त्री शाहीले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अबैध पसलहरू तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको ब्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीको निर्देशन लगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसलहरू तत्काल हटाउने र ट्राफिक ब्यवस्थापन मिलाउने प्रक्रिया सुरू गरिएको बताउनु भएको छ ।