काठमाडौं । आज दिउँसो १ बजेका लागि डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । प्रदेश महाधिवेशन कसले गराउने भन्ने विषयमा सहमति जुट्न नसक्दा १ बजेदेखि अहिलेसम्म नेताहरू सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठको बैठक कोठामा बसिरहेका छन् ।
सानेपामा बैठक बस्नेगरी सूचना जारी भएपनि रौतहटका नेता कार्यकर्ता धर्नामा बसेको भन्दै सभापति देउवाले बैठटक आफ्नै निवासमा सारेका थिए । दिउँसो नै पुगेका केन्द्रीय सदस्यहरू अहिलेसम्म बैठकमा सहभागी हुन पाएका छैनन् । खासगरी आगामी १६ र १७ मंसिरका लागि घोषणा गरिएको प्रदेश महाधिवेशन कसले गराउने भन्ने विषयमा नेताहरूबीच सहमति हुन अझै सकेको छैन ।
त्यसैले केन्द्रीय समिति बैठक ढिला भएको एक पदाधिकारीले जानकारी दिएका छन् । ती पदाधिकारीकाअनुसार प्रदेश अधिवेशन गराउन निर्वाचन समितिका संयोजक तोक्ने विषयमा पनि सहमति जुटिसकेको छैन । गत साउन २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले भदौ १६ देखि १९ सम्म हाधिवेशनको मिति तय गरेर त्यस अनुरूप कार्यतालिका बनाएको थियो । त्यो कार्यतालिकाअनुसार अधिवेशन सम्भव नभएपछि कांग्रेसका पदाधिकारीहरू नै बसेर कार्यतालिका संशोधन गर्दै मंसिर ९ देखि १३ को मिति तय गरेका थियो ।
त्यसयता कांग्रेस सभापति शेरबहादुर देउवाले एकैपटक आइतबारका लागि केन्द्रीय समिति बैठक डाकेका हुन् । यसबीचमा कांग्रेस महाधिवेशन तालिका दुईपटक संशोधन भइसकेको छ । आगामी मंसिर १६ र १७ गते प्रदेश महाधिवेशन गराउन निर्वाचित समिति संयोजक तोक्ने विषयमा कांग्रेसमा अझै सहमति हुन सकेको छैन ।