डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिएका छन् । बमका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो । देउवाले शतप्रतिशत मत भने पाएनन, अधिकृत बंमले बताए । काग्रेस प्रतिनिधि मध्ये ५५ जनाले देउवालाई मत नदिएको उनले जानकारी दिएका छन् ।
महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी भएका छन् । यसैगरि डडेल्धुरा जिल्ला बाट महाधिवेशन प्रतिनिधिमा आरजूराणा देउवा सर्वसम्मत चयन भएकी छन् ।
खुला महिलाबाट राणा सहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । सर्व सम्मत चयन हुनेमा सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा सर्वसम्मत भएका थिय । महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मीनबहादुर चन्द र सम्पन्न राज भट्ट निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित भएका छन् ।
दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधीमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित भएका छन् । समावेशी जनजाती महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ख अल्पसंख्यक तर्फ जय प्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका केन्द्रिय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिएका छन् ।