काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट रुकुमको चौरजहारीका लागि उडेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान नेपालगञ्जमै अवतरण भएको छ ।
क्याप्टेन पेम्बा शेर्पाले सोमबार काठमाडौँबाट चौरजहारी पुर्याउनु पर्ने जहाजलाई आफ्नो ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएका थिए । सोमबार ३ बजे ८ यात्रुसहित चौरजहारी उडेको उक्त जहाज नेपालगन्जमाथि पुग्दा ४ बजेको र उक्त समयमा आफ्नो ड्युटी अवधि पूरा भइसकेको भन्दै उनले नेपालगञ्ज मै जहाज अवतरण गरेका थिए ।
यात्रुलाई पाइलटले गन्तव्यमा नपुर्याई नेपालगन्जमै ओरालेपछि वायु सेवा निगमले नै यात्रुलाई नेपालगन्जमा बस्ने व्यवस्था मिलाएर मंगलबार बिहान मात्रै चौरजहारी पुगेका छन् ।
घटनापछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा क्याप्टेनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो । मन्त्री आलेले उक्त घटनाबारे छानविन गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन समेत दिएको मन्त्री आलेको सचिवालयले जानकारी दिएको छ ।