बीबीसी । अमेरिकी स्पेस एजेन्सी, नासाले सूर्यको वायु मण्डलमा प्रवेश गर्न सफल पहिलो मानव यन्त्रलाई ऐतिहासिक क्षण बताएको छ ।
यो उपलब्धी ‘पार्कर सोलार प्रोब’ नामक यन्त्रले हासिल गरेको हो । वैज्ञानिकहरुले ‘कोरोना’ नाम दिएको सूर्य नजिकको क्षेत्रमा यसले निश्चित समय प्रवेश गर्न सकेको हो । यो घटना वास्तवमा अप्रिलमै भएको थियो तर अहिले मात्र वैज्ञानिकहरुले पक्का गरेका हुन् ।
यस यात्रामा जान पार्कर यानले अत्यन्तै तीव्र तापमान र विकिरणको सामना गर्नुपरेको थियो । तर यस मिसन पश्चात् सूर्यले कसरी काम गर्दछ भन्नेबारे विभिन्न नयाँ तथ्य पत्ता लाग्ने बताइएको छ ।
नासाको हेलियोफिजिक्स विज्ञान विभागकी निकोला फक्स भन्छिन्, “जसरी चन्द्रमामा अवतरण गर्नुले वैज्ञानिकहरुलाई त्यसको उत्पति कसरी भयो लगायत विभिन्न कुराहरु बुझ्न मद्दत गर्यो त्यसरी नै हाम्रो ग्रहको सबैभन्दा नजिकको तारा, सूर्यलाई छुनुले पनि हाम्रो सौर्य प्रणालीमा यसले पार्ने प्रभाव लगायत विभिन्न महत्वपूर्ण जानकारी हासिल गर्न उल्लेखनीय मद्दत मिल्नेछ ।”
पार्कर सोलार प्रोब नासाको हालसम्मकै सबैभन्दा कठोर मिसनका लागि निर्माण गरिएको यान हो । यसलाई तीन वर्ष अगाडि लन्च गरिएको थियो । यसको लक्ष्य भनेकै बारम्बार सूर्यको सतह नजिक पुग्नु र त्यसतर्फ जानु हो ।
यो यानको गति ५ लाख किलोमिटर प्रति घण्टा रहेको छ । यसको रणनीति भनेको केही क्षणका लागि सूर्यको नजिक पुग्नु अनि तत्कालै फेरि बाहिर आइहाल्नु हो । यति गर्दा पनि सूर्यको वातावरणबारे विभिन्न मापन गर्न सकिन्छ । यसलाई एउटा विशेष प्रकारको एकदमै बाक्लो सिल्डले सूर्य नजिकको उच्च तापमानबाट सुरक्षा दिइरहेको हुन्छ ।
गत २८ अप्रिलमा पार्करले कोरोना क्षेत्रको ठीक बाहिरसम्म प्रवेश गर्न सफल भएको थियो । त्यही बिन्दुबाट हामी गुरुत्वाकर्षण र चुम्बकीय फोर्सबाट मुक्त हुन सक्छौँ ।
यसमा सूर्यको ‘फोटोस्फियर’ अर्थात बाहिरबाट देखिने सतहको १ करोड ३० किलोमिटर माथिको सिमानासम्म पार्कर यान पुगेको हो । प्राप्त डाटाका अनुसार पार्करले पाँच घण्टाको अवधिमा फरक फरक समयमा तीनपटक उक्त सिमा प्रवेश गरेको थियो ।
सूर्यको ‘फोटोस्फियर’ सतहको तापमान करिब ६ हजार डिग्री हुन्छ तर कोरोना क्षेत्र भित्र यो १० लाख डिग्री या सो भन्दा बढी पनि पुग्न सक्छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका स्टुअर्ट बेलले संचारकर्मीहरुसँग भने, “त्यहाँ पुग्नासाथ हामीले अवस्था पूर्ण रुपमा बदलिएको देख्यौँ । कोरोना क्षेत्र भित्र सूर्यको चुम्बकीय शक्ति अत्यन्तै शक्तिशाली भयो । र त्यहाँको सबै तत्वको हलचल गर्ने क्षमतामाथि त्यो शक्ति हावी भयो । ”
यसमा खोजकर्ताहरुले सूर्यका केही अति महत्वपूर्ण प्रक्रिया हुने ठाउँ, कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्नुले उत्साहित भएको र आश्चर्यमा परेको बताएका छन् । पार्कर यान आगामी दिनहरुमा कोरोना क्षेत्रको अझ गहिराइसम्म उड्ने वैज्ञानिकहरुले बताएका छन् । २०२५ सम्म यो फोटोस्फियरमा ७० लाख किलोमिटरसम्म पुग्ने बताइएको छ ।
सूर्यमा हुने गतिविधिले ठूलो रुप लिने हो भने यसले पृथ्वीको चुम्बकीय क्षेत्र नै भङ्ग गरिदिन सक्छ भने हाम्रो सम्पूर्ण संचार अवरुद्ध हुन सक्छ , स्याटलाइटहरु अफलाइन हुन सक्छन् र पावर ग्रिड पनि बन्द हुने जोखिममा पर्दछन् । त्यसैले यस किसिमको घटनाबारे पहिले नै भविष्यवाणी गर्न पार्करले नयाँ र अत्यन्तै मूल्यवान् जानकारी प्रदान गर्ने वैज्ञानिकहरुले बताएका छन् ।