काठमाडौं । नेकपा माओवादी केन्द्रले समूहगत छलफलका लागि प्रज्ञा भवनका सबै हलहरु बुक गरेको छ। राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक, सांगठानिक, विधानलगायतका प्रतिवेदनका बारेमा समूहगत छलफल गर्न आवश्यक पर्ने भन्दै सबै हलहरु बुक गरेको छ ।
सम्मेलन व्यवस्थापन समितिका संयोजक हितमान शाक्यका अनुसार प्रतिवेदन तयार पार्न २५ वटा समूहहरु बनाएर छलफल हुने छ। यी समूहहरुलाई व्यवस्थापन गर्न प्रज्ञाको हलहरु बुक गरिएको जनाएको छ ।
‘राजनीतिक, सांगठानिक र विधान प्रतिवेदन माथि छलफलका लागि २५ वटा समूह निमार्ण गर्नेछौं,’ शाक्यले भने, ‘त्यसका लागि प्रज्ञा भवनका सबै हलहरू बुक गरिसकेका छौं, अपुग हुने ७÷८ समुहलाई भने पेरिसडाँडामा स्थान तोक्दैछौं।’
प्रज्ञा भवनका चौरमा पनि समूहगत छलफल हुने गरी व्यवस्थापन गर्न लागिएको शाक्यको भनाइ छ। यही पुस ११ गतेदेखि हुने माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक एक सय ७९, सल्लाहकार एक सय ४९, जेष्ठ कम्युनिष्ठ एक सय २५, आयोग ७५, केन्द्रिय बिभाग एक सय २, केन्द्रिय प्रतिनिधि २७, मनोनित हुने ७३ जनासहित एक हजार पाँच सय ३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन्।