काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आसन्न प्रथम राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेश भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनको सङ्क्षिप्त रुप वाचन गरेर सुनाएका थिए ।
प्रतिवेदनमाथि आजै अपराह्न ३ बजे पुनःबस्ने स्थायी समिति बैठकमा छलफल हुनेछ । माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा– प्रतिष्ठानमा हुँदैछ । माओवादीले सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने सङ्कल्प लिएको छ ।
बैठकमा माओवादी प्रवेश गर्न लागेको साना दलका बारेमा पनि छलफल भएको थियो । आज आयोजित एक कार्यक्रमबीच नेकपा मसाल र नेकपाबाट विद्रोह गरी बनेको दल माओवादी प्रवेश गर्ने कार्यक्रम रहेको प्रवक्ता महराले जानकारी दिए । नवप्रवेशीलाई पार्टी अध्यक्ष दाहालले स्वागत गर्ने कार्यक्रम रहेको छ ।