दाङ- दाङको कर्णाली भनेर चिनिने बबई गाउँपालिकाको गंगटेमा बिजुली बत्ती पुगेको छ । बबई गाउँपालिकाको सदरमुकाम हापुरेदेखि करिब २४ किलोमिटर टाढाको गंगटेमा नेपाल विद्युत प्राधिकरण तुलसीपुरको योजनाअन्तर्गत विद्युत पुर्याइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बबई गाउँपालिका(१ को वडा कार्यालयमा रहेको स्विच अन गरेर विद्युत प्रशारणको शुभारम्भ गरेका छन् । गाउँमा पहिलो पटक विद्युत पुगेपछि गंगटेका करिब सय घरधुरी लाभवान्वित भएका छन् ।
बबई गाउँपालिकालाई नै उज्यालो बनाउने उद्देश्य अनुरुप गंगटेमा विद्युत विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडलले बताएका छन् । ‘उज्यालो बबई अभियान छ, गाउँपालिकाका विकट वस्तीमा विद्युत पुर्याउने योजना अनुरुप नै गंगटेमा विद्युत विस्तार गरिएको हो, उनले भने, ‘यो अभियान ग्रामीण वस्तीमा विस्तार गर्दै लगिनेछ । निर्वाचनको बेला विद्युत विस्तार गर्ने प्रतिबद्धता पूरा गर्न पाएको उनले खुशी व्यक्त समेत गरेका छन् ।