काठमाडौं- दुई ब्याट्स म्यानले अर्धशतक बनाएपछि एसीसी यु(१९ एसिया कपको दोस्रो खेलमा श्रीलंकाले नेपाललाई जितका लागि ३२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु विक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको हो ।
श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए । यस्तै, चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए । नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपालको हारले एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।
यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ ।
नेपालको टिममा देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), वसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्सनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर रहेका छन् ।