सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमविरुद्ध पूर्वतयारी थाल्न निर्देशन दिएका छन् । पूर्वी सुर्खेतको मेहलकुना अस्पतालको आज निरीक्षण गर्दै शाहीले स्थानीय तह र स्वास्थ्य संस्थाले महामारी फैलिनु अगावै पूर्वतयारीका कार्यहरू सम्पन्न गर्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगङ्गा नगरपालिकाको छिन्चुमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए । “तीनवटै तहका सरकारहरूले सङ्क्रमण फैलिनु अगावै आपसी सहकार्य गरेर कार्ययोजना बनाऔँ”, शाहीले भने , “प्रदेश सरकारले बजेट र जनशक्ति अभाव हुन दिँदैन । स्थानीय व्यवस्थापन र स्वास्थ्य सतर्कता अपनाउन पहिले कार्ययोजना तयार पारौँ ।”
मुख्यमन्त्री शाहीले सुर्खेतसहित सल्यान, जाजरकोट, रूकुमपश्चिम र डोल्पामा अक्सिजन अभाव हुन नदिन मेहलकुना अस्पतालमा ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको बताएका छन् । कर्णाली प्रदेशमा सुर्खेतका दुई स्थान, दैलेख, रुकुम पश्चिम, कालीकोट र जुम्लामा ठूलो क्षमतामा अक्सिजन उत्पादन हुने भएकाले यसको अभाव नहुने उनको भनाइ थियो ।
गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले मेहलकुना अस्पताललाई जनशक्ति, पूर्वाधार र औषधिजन्य उपकरणले सुविधासम्पन्न बनाउनुपर्ने धारणा राखेका छन् । साथै उनले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई पूर्णता दिन पनि माग गरेका छन् ।