काठमाडौं- आजको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले नाराबाजी सुरु गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना असहमतिहरू विधि र प्रक्रियाबाट राखी छलफलको वातावरण बनाउन आग्रह गरेका थिए ।
सभामुख सापकोटाले लगातारको संसद् अवरोधका कारण नागरिकले दैनिक जीवनमा भोग्दै आएका समस्याहरूको समाधान खोज्ने, सरकारलाई उत्तरदायी बनाउने जस्ता संसद्को न्यूनतम जिम्मेवारी समेत पुरा हुन नसकेको हुनाले आफ्नो भूमिका प्रति संवेदनशील हुन सांसदहरूलाई आग्रह समेत गरेका छन् ।
यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभामा विभिन्न ४२ वटा अत्यावश्यक विधेयकहरू विचाराधीन रहेको जानकारी गराउदै गतिरोध अन्त्य गरी राज्य सञ्चालनका लागि आवश्यक कानुन निर्माणमा सहयोग पुर्याउन समेत आग्रह गरेका छन् ।
पटक–पटकको आग्रहपछि पनि नाराबाजीलाई निरन्तरता दिएपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷०७८ पेस गर्न समय उपलब्ध गराएका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक यही फागुन ६ गते शुक्रवार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।