जुम्ला- तातोपानी गाउँपालिका वडा न. ६ को हियाखोला गाउँमा तीन महिनापछि जिल्लाकै पहिलो होजियारी उद्योग सञ्चालन गर्ने तयारी भएको छ । चुलोचौकोमा सीमित महिलालाई हाते होजियारी सिप सिकाएर दक्ष कालिगड बनाई गाउँमै उद्योग सञ्चालन गर्ने वडा पालिकाले लक्ष्य लिएको छ । आफै कालिगड र गाउँमै उत्पादन हुने वस्तुबाट महिलाले दोहोरो लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
सोही अनुसार बितेको ३ महिनादेखि तातोपानी–६ हियाखोलाकी सिता कामीले हाते होजियारी सिप सिक्दै आएकी छन् । बिहान बेलुकीको समयमा स्विटर, हाइनेक देखि उनीका कपडा बुन्नमै अधिकांश समय बिताउँछन् । वडा नं-६ ले दिएको तालिमलाई अवसरका रुपमा लिएको सिताको भनाइ छ ।
उनि भन्छिन,“हामीले लगाउने शिरदेखि पाउँ सम्मको कपडा आयातित छ । सिप नभएर बेरोजगार बसेका थियौ । गाउँमै उद्योग खोल्ने उद्देश्य छ । कालिगड बिना उद्योग सञ्चालन सम्भव छैन । बाहिरबाट ल्याउँदा महँगो पर्छ । त्यसैले सामाग्री उत्पादनदेखि मेसिन मर्मतको सिप सिकेर कालिगडका रुपमा तयार हुदैं छौ ।”
आगामी दिनमा होजियारी उद्योगका माध्यमबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने लक्ष्य लिएका छौ । आफ्नै सिप र आफ्नै उत्पादनले जुम्ला सहित देश विदेशमा सामान पठाउने सोच छ । ६ महिने तालिमको ३ महिना पुरा हुँदा उनीको स्विटर, हाइनेक, टोपी, मफ्लर, मोजा सम्म बनाउन जानिसक्यौ ।
हियाखोलाकै अर्की महिला सङ्गीता कामीले भन्छिन,“घरमै बसेर आर्थिक कमाउने बाटो पहिल्याउदैछौँ । सानैमा विवाह गरेर शिक्षाको अवसरबाट वञ्चित भइयो । इच्छा शक्ति भएकोले स्वरोजगार बन्न पढाइले छेकेको छैन । दक्ष कालिगड भएर माग अनुसार सामाग्री उत्पादन गरी आयआर्जन बढाउने सोचमा छौ ।”
गाउँमै बेरोजगार र अशिक्षित महिलालाई केन्द्रमा राखेर होजियारी सीप दिन थालेपछि अहिले हियाखोलाका महिलाहरू विभिन्न कपडा बुन्ने कार्यमा अग्रसर भएकी छन् । सिता र सङ्गीता कामी उदाहरण मात्र हुन्,गाउँमै उद्योग सञ्चालनका लागि दक्ष कालिगड बन्ने सोचले हियाखोलाकी कल्पना आर्चाय, पविता कामी, तिलनदेवी कामी लगायतका सात जना महिला नियमित होजियारी सीप सिकिरहेका छन् । उनीहरूले पहिलो तीन महिनामा सादा र विभिन्न डिजाइनका कपडा बुन्न सिकेकी छन् । भने अबको तीन मेसिन मर्मतको काम देखि अन्य आकर्षक डिजाइनका कपडा बुन्न सिक्ने छन् ।
प्रशिक्षक रामप्रसाद छत्कुलीले भनिन ,“यहाँको हावापानी अनुकूलको कपडा तयारी गर्न जुम्लामा होजियारी उद्योगको सम्भावना राम्रो छ । कपडा आयात मात्र नभई नेपालका साना, मझौला देखि ठुला उद्योगमा भारतीय कालिगडकै राज छ । त्यसैले गाउँमै उद्योग खोलेर गाउँकै महिला कालिगड बन्ने हो भने सस्तोमा उपभोक्ताले कपडा पनि पाउने र आर्थिक समृद्धि सम्भव देखिन्छ ।” धादिङबाट सिप सिकाउन आएका प्रशिक्षक छत्कुलीले सरकारले उद्योग सञ्चालन सँगै स्वदेशी कालिगड उत्पादन तर्फ पनि ध्यान दिनुपर्ने बताए ।
होजियारी उद्योग स्थापना गर्न गाउँकै महिलालाई सिप सिकाएर दक्ष कालिगड बनाएर रोजगारी प्रदान गर्न स्थानीय सरकार लागि परेको छ । तातोपानी ६ का वडाध्यक्ष विशाल खड्का होजियारी उद्योगले मात्र ग्रामीण महिलाको आयआर्जनमा सहयोग पुग्ने बताउँछन् । अहिले सम्म हियाखोलाका नागरिक सरकारी कर्मचारी छैनन् । यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला हो ।
वडाध्यक्ष खड्काले भने ,“अब यो गाउँलाई उद्यमी गाउँका रुपमा विकास गर्न महिला कालिगड उत्पादनको तयारीमा छौ । आफै कालिगड भए पनि महिलाले आफ्नै लगानी गरेर पनि भविष्यमा उद्योग स्थापना गर्न सक्ने देखिन्छ ।”
घरको कामलाई छोडेर पनि महिलाहरू सिप सिक्न अग्रसर भएकोले उद्योग सञ्चालन गर्ने लक्ष्य साकार हुने उनको भनाई छ ।
होजियारी तालिमका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । हाल सिप सिकेर उद्योग स्थापना उत्पादित भएको सामानको बजारीकरणमा स्थानीय तहले सहजीकरण गरिदिन्छ । वडाध्यक्ष खड्काले थप्नुभयो,“होजियारी उद्योगको यहाँ आवश्यक ठान्यौँ । अहिले सामान्य संस्थाको भवनमा सीप प्रदान भइरहेको छ । यसका लागि प्याकेजिङ र सिलाई गर्ने ठाउँ फरक चाहिने रहेछ । झण्डै ३० देखि ४० लाख लगानी थप्नु पर्ने छ । भविष्यमा पदमा । हुँदावा नहुँदा हियाखोला गाउँमा होजियारी उद्योग सञ्चालन गरेरै छाडिन्छ ।”
६ महिने तालिमबाट महिला दक्ष कालिगड बन्ने, उद्योग सञ्चालनको लक्ष्य पुरा हुने र महिलाको आर्थिक स्थित सुधार हुनेमा आफु विश्वस्त रहेको समेत वडाध्यक्ष खड्काको भनाई छ ।