जुम्ला-जुम्लाको कनकासुन्दरी गाउँपालिकाले ‘बालविवाह मुक्त गाउँ बनाउने अभियान’ सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सचेतनाका कार्यक्रमका साथ परामर्श तथा छलफल सञ्चालन गर्दै दण्डित गरेर भए पनि बालविवाह रोक्ने अभियान चलाएको छ ।
कनकासुन्दरी–४ का वडा सदस्य सिंहराज सार्कीले भने, “बालविवाह हुन नदिन सचेतनाका अभियान सञ्चालन गरिराखेका छौँ । बालविवाह रोक्न निगरानी समिति गठन गरी काम गरिरहेका छौँ ।” बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी–६ का लालु नेपालीले बताए ।
दलित समुदायमा बालविवाह बढी भएकाले ती समुदाय नै अहिले बालविवाह रोक्न अग्रसर भएको उनको भनाइ छ । सो गाउँपालिकाका वडा नं ४, ५ र ६ का बस्तीलाई बालविवाह मुक्त बनाउन सो अभियान केन्द्रित छ । विगतका तुलनामा छाउपडी कम भए पनि बालविवाहलाई रोक्न स्थानीयले अभियान नै सञ्चालन गरेको गाउँपालिको महिला तथा बालबालिका शाखाले बताएको छ ।
जिल्लामा अझै ७० प्रतिशत बालविवाह हुने गरेको जनाइएको छ । गत आ व मा जिल्लाका ८६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् । ती मध्ये कनकासुन्दरीका मात्रै ९० किशोरीले २० वर्ष नपुगी बालविवाह गरेका थिए । पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको जनाइएको छ