काठमाडौँ- प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४९औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
आज बाट बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने बताइन्छ ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।