काठमाडौं- पेट्रोल पम्प व्यवसायीहरुले इन्धन खरिदमा रोक लगाएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अनुसार पेट्रोल पम्म व्यवसायीहरुले पाउने गरेको कमिशन नेपाल आयल निगमले कटौती गरेको विरोधमा इन्धन खरिद रोकिएको बताएका छन् ।
व्यवसायीहरुको सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरिएको संस्थाले जानकारी दिएको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने थानकोट डिपोबाट इन्धन उठेको छैन । डिपोका एक अधिकारीले आज डिपोबाट डिजेल, पेट्रोल र मटीतेलको बिक्री नभएको बताएका छन् । सो डिपोबाट दैनिक ७ लाख लिटर डिजेल र ९ लाख लिटर हाराहारी पेट्रोल बिक्री हुने गरेकोमा आज ठप्प रहेको बताएका छन् ।
बिहीबार बसेको आयल निगम सञ्चालक समिती बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिशन कटौती गर्ने निर्णय गरेको थियो ।
इन्धन खरिद रोक्दा अब बजारमा इन्धन अभाव हुने पक्का भएको छ ।