काठमाडौं- सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । यसअघि बैठक बिहान ११ बजे बस्ने भनिएको थियो ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजको बैठक बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्ने भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्झौता एमसिसीका सम्बन्धमा उठेका विभिन्न सवालमा जवाफ दिने कार्यक्रम रहेको छ ।
यस्तै स्थायी समिति, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय समितिमा थप गर्ने सदस्यका बारेमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । बैठक सम्पन्न गरे आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनको तयारीमा केन्द्रीत हुने माओवादीको तयारी रहेको छ । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।