कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था नाजुक रहेको जनाएका छन्।
दोस्रो पटक गृहजिल्ला सरकारी कामले पुगेका मुख्यमन्त्री शाहीले मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्यकर्मीका लागि तालिमको उद्घाटन गर्दै अहिले कर्णाली प्रदेशमा दैनिक एक जनाले आत्महत्या गर्ने प्रतिबेदनले देखाएको बताएका हुन् । यो अवस्था प्रदेशकै लागि भयावह भएको उनको भनाइ रहेको छ। यो नकारात्मक कार्यलाई निरुत्साहित गर्न आवश्यक रहेकाले हुम्लामा सामाजिक विकास मन्त्रालयद्वारा स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिमको आयोजना गरिएको शाहीको भनाइ थियो ।
उनले भने, ‘मानसिक स्वास्थ्य कर्णाली प्रदेशमा कोरोनाभन्दा पनि बढी जोखिमका रूपमा पाइएको छ। स्वास्थ्यकर्मी र स्वास्थ्य सेवा कार्यालयले मानसिक स्वास्थ्यविरुद्ध गर्ने कुनै पनि कार्यक्रमका लागि प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको छ।’
उनले कर्णालीबाट यो समस्या न्यूनीकरण गर्न तालिम प्रदान गरिएको बताए। दुई दिनसम्म सञ्चालन हुने तालिममा सबै गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीको सहभागी रहेको छ ।