काठमाडौं:– चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८-७९ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.९ प्रतिशत हुने अनुमान छ ।
गत आवमा राष्ट्रिय तहमा कूल गार्हस्थ्य उत्पादनको ३६.७ प्रतिशत हिस्सा ओगटेको थियो । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु ४८ खर्ब ५२ अर्ब हुने विभागको प्रक्षेपण छ । बागमती प्रदेशको कूल गार्हस्थय उत्पादन उपभोक्ता मूल्यमा करिब रु १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ ।
कूल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत छ । कर्णालीको उपभोक्ताको मूल्यमा रु एक खर्ब ९८ अर्बको हाराहारी हुने अनुमान गरिएको छ । चालु आवमा बागमतीपछि कूल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशमा क्रमशः प्रदेश १, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।
कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ५.८ प्रतिशत अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.७ प्रतिशत र मधेस प्रदेशको वृद्धिदर सबैभन्दा कम ४.८ प्रतिशत रहने अनुमान गरिएको छ । संशोधित अनुमानअनुसार गत आवमा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा म ३.७ प्रतिशत रहेको थियो ।
औद्योगिक वर्गीकरणअनुसार गत आव र चालु आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी देखिन्छ । प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या तथा राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण व्यापार क्षेत्रको योगदान बढी देखिएको विभागले जनाएको छ ।