काठमाडौं तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनायो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाएका हुन ।
यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदिप सिंहले ३७ रन बनाए । इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोडे ।
बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई÷दुई विकेट लिए भने बसिर अहमद र शाहब आलमले एक÷एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ ।
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा १७ रनले विजयी भएको थियो । अहिले नेपालले ब्याटिङ गरिरहेको छ दश ओभर को समाप्तिमा नेपालले ५३ रङ मा खेलीरहेको छ ।