काठमाण्डौ- १९ औँ निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ।
दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ।
१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन्।
तर सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन।
निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने प्रावधान छ।
तर प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।
सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो।
दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।
विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो ।
त्यहि दिनको स्मरणमा सरकारले विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ ।