हुम्ला – कर्णालीको बिकट जिल्लाहो हुम्ला जहाँ पछिल्लो समय बलात्कारका घटनाहरू बढ्दै गएको पाइएको छ। हुम्लामा यसअघि यस्ताखाले उजुरी दर्तासमेत हुने गरेका थिएन।
प्रहरी नायव उपरीक्षक कृष्णराज ओजाले गत साउन महिनायता चारवटा बलात्कारका घटनाहरू भएको जानकारी दिएका छन् ।
उनले चारवटै घटनालाई प्रहरीले अदालतसमक्ष अभियोग पेश गरिसकेको र उक्त घटनाका आरोपितमध्ये एक जनाबाहेक अन्य सबै प्रहरी हिरासतमा रहेको जानकारी दिए ।
यी घटनामा एकदेखि चार जनासम्म व्यक्तिहरूको संलग्नता रहेको पीडित युवतीहरूले आफ्नो किटानी जाहेरीमा उल्लेख गरेकी छन् ।
गाउँ-गाउँमा हाल सञ्चालन गरिरहेको अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रमले पनि उजुरी दर्ता गर्न सहयोग गरिरहेको प्रहरीको भनाइ रहेको छ ।
स्वास्थ्य जाँचमा समस्या
यस्ता जबरजस्ती करणका घटना घटिसकेपछि उनीहरूको स्वास्थ्य जाँचमा समस्या हुने गरेको छ।
पीडित महिलाको स्वास्थ्य जाँच गर्नका लागि चिकित्सकहरूले विशेष तालिम लिएको हुनुपर्छ। हाल अस्पतालमा सातजना चिकित्सक भए पनि कसैले त्यससम्बन्धी तालिम नलिएका कारण पीडित महिलाको स्वास्थ्य जाँच हुन नसकेको हो।
प्रमुख जिल्ला अधिकारी सीता परियारले चारवटै घटनाबाट पीडित महिलालाई उपचारका लागि सुर्खेत पठाउनु परेको बताइन्।
सुर्खेत उपचारका लागि गएका सबैको उपचार र हवाई भाडा पनि स्वास्थ्य सेवा कार्यालयले दिने गरेको छ।