सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाको प्रश्नसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सबै पक्षले हातेमालो गरे मात्र कानुन कार्यान्वयनमा सहजता हुने बताए ।
मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेकोतर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए । “यस्ता अपराध न्यूनीकरण गर्न सबै जुट्नुप¥यो, म अस्ती जुम्लामा जाँदा चार वर्षीया बालिका बलात्कृत भएको घटना थाहा पाए ।
यस्ता घटना न्यूनीकरणको लागि हामी सबै एक भएर अगाडि बढौँ ।” उनले भने , “छुवाछूत विरुद्धको कानुन त विसं २०२० मा बनिसकेको थियो नी, तर छुवाछूत त अहिलेसम्म नै कायम छ, यसो हुनु भनेको चेतनाको कमीले हो । त्यसैले हामी सबैले हातेमालो गरेर बालअधिकार सुनिश्चित गर्न सक्छौँ ।” बालविवाह न्यूनीकरणमा सरकार लागि रहेको भन्दै उनले यसको लागि पनि सचेतना नै आवश्यक हुने उनको भनाइ छ ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याए ।
मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्नै प्रश्न
कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री शाहीलाई बालअधिकारका कुरा कागजमा मात्रै नभएर कार्यान्वयन पनि जोड दिन माग गर्दै प्रश्नैप्रश्न सोधका थिए ।
उनीहरुले बालबालिका अहिले पनि श्रममा परिरहेको, बालिका बलात्कार बढ्दै गएकोतर्फ सरकारले किन ध्यान दिन नसकेको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए ।
जनमावि सुर्खेतमा कक्षा १२ पढ्दै गरेकी आसिका खत्रीले बालिका बलात्कृत भइरहेको भन्दै बलात्कृत भएपछि पैसामा न्याय साटिने प्रवृतिको अन्त्य गर्न सरकारको किन ध्यान पुग्न नसकेको भन्दै प्रश्न गरेका थिए । “बलात्कृत भएको बालिकालाई न्याय त दिइएला, उसको जीवन नष्ट भइसकेको हुन्छ, तर न्याय जग्गा र पैसामा साटेर न्याय दिलाइन्छ । यसले बालअधिकार हनन गर्दैन र ?” उनको प्रश्न थियो ।
सुर्खेतकै कृति काफ्लेले पनि कर्णालीमा बालविवाहको अवस्था गम्भीर रहेको भन्दै बालविवाह विरुद्धका बनेका कानुनहरु कार्यान्वयन हुन नसक्नुको कारण जिज्ञासा राख्दै भने , “हाम्रो ठाउँमा धेरै बालविवाह भइरहेका छन । त्यो मुख्यमन्त्रीलाई पनि थाहा छ, बालविवाह विरुद्धका कानुनहरु पनि बनेका छैन । मुख्यमन्त्रीले ति कानुन सक्रियतापूर्वक किन कार्यान्वयन गर्न सक्नुभएको छैन ?”
कार्यक्रममा विभिन्न जिल्लाका बालबालिकाहरुले टेलिफोन र भिडियोमार्फत मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए भने राउटे समुदायका बालबालिकाले राउटे बालबालिकालाई प्रदेश सरकारले के गर्छ भनेर प्रश्न सोधेका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कार्पी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी वक्ताको रुपमा रहेका थिए ।