काठमाडौं – प्रायजसो मुलुकमा आम निर्वाचनमा जाँदा पार्टीहरुले प्रधानमन्त्री तोकेर चुनावी प्रतिस्पर्धा गर्ने चलन छ । नेपालमा पनि यदाकदा नभएको होइन ।
नेकपा एमालेले २०७४ को आम निर्वाचनमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री तोकेर चुनावमा गएको थियो भने अहिले पनि ओलीलाई नै आगामी प्रधानमन्त्री तोकि सकेको छ । तर, नेपाली कांग्रेसमा यसको सुरसार छैन् ।
भदौ ११ गते सम्पन्न भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनपश्चात् प्रधानमन्त्री बनाउने निर्णय गरको थियो । यो निर्णयसँगै मंसिर ४ मा हुने निर्वाचनमा एमालेले ओलीलाई प्रधानमन्त्री उमेदवारका रुपमा प्रस्तुत गर्दैछ । ओली अहिले देखि नै आगामी प्रधानमन्त्रीको रुपमा चुनावी प्रचार अभियानमा लागिसकेका छन् ।
२०५६ को आम निर्वाचनमा कृष्णप्रसाद भट्टराइलाई प्रधानमन्त्री तोकेर चुनावमा गएको नेपाली कांग्रेसले बहुमत ल्याएको थियो । २०७० मा भएको दोस्रो संविधानसभामा निर्वाचनमा पनि शुशिल कोइराला प्रधानमन्त्री बन्ने पक्का जस्ते भएकाले कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो र संविधान पनि जारी भयो । अहिले पनि कांग्रेसभित्र आगामी प्रधानमन्त्री को हुने भन्ने कुरा तोकेर नै चुनावमा जानुपर्ने आवाज बलियो छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्म पार्टीले चुनाव जितेर प्रधानमन्त्री भएका छैनन् । २०५२ सालदेखि अहिलेसम्म उनी चलखेलबाट मात्रै प्रधानमन्त्री भएका हुन् । ज्योतिष भाग्यमा विश्वास गर्ने देउवाले आफु सात पटकसम्म प्रधानमन्त्री बन्न सक्ने बताइरहकेका छन् । पाचौँ पटकको प्रधानमन्त्रीको कार्यभाार सम्हालीरहेका देउवाले पार्टी सभापतिमा नउठ्ने बताए पनि कांग्रेसले जितेको खण्डमा आगामी प्रधानमन्त्री पनि आफै बन्ने दाउमा छन् । अझ गठबन्धन गरेर जाने भएपछि गठबन्धबाट साझा प्रधानमन्त्री दिनुपर्ने हो ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले प्रधानमन्त्री त के आफ्ना कतिजना उमेदवार हुन्छन् भन्ने टुंगोसमेत गरिसकेको छैन । कांग्रेसको आन्तरिक एकता निर्वाचनमा देखिन्छ कि देखिँदैन भन्ने कुरासमेत अन्योलमै छ । अहिलेसम्म सिट संख्यादेखि गठबन्धनको अवधारणासम्म कांग्रेसमा एकमत देखिएको छैन । कांग्रेस मात्र होइन गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता ससमाजवादी पार्टी ९जसपा० कसैको पनि सिट संख्या टुंगो लागेको छैन । सिट बाँडफाँटको रस्साकस्सी चलिरहँदा भावी प्रधानमन्त्रीको नाम लिएर चुनावमा जाने अवस्थामा कांग्रेसले गठबन्धनलाई पुर्याउन सकेको छैन् ।
गठबन्धनमा प्रतिनिधित्व गर्ने दलहरूले पनि आ–आफ्नो दलबाट प्रधानमन्त्रीको रूपमा कुनै नेतालाई अघि बढाउन सकेका छैनन् । नेकपा माओवादीका अध्यक्ष दाहाल पनि आगामी प्रधानमन्त्रीका दावेदार हुन् । उनको यो दावीकै कारण पनि गठबन्धनमा सीट संख्याबारे सहमति जुटेको छैन् । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीमा दाबी गर्ने दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मात्र देखिन्छ । केही समयअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममार्फत आफू एकपटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने चाहना प्रकट गरेसकेका थिए ।
कार्यकर्ता भेटघाटाका लागि तनहुँ पगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका थिए । आफू देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे नभएको भन्दै उनले विचलित नभइ १४ वर्ष जेलमा जीवन बिताएकाले पनि देशको नेतृत्व गर्ने आँट आफूसँग भएको उनको दावी छ ।
पौडेल भन्दा धेरै अघि नेपाली कांग्रेका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दावी गर्ने घोषणा गरेका थिए । थापाले सार्वजनिक सञ्चारमाध्यममार्फत् आफू प्रधानमन्त्रीमा यसैपटक प्रयास गर्ने बताएका थिए । थापाले उमेदवारी सार्वजनिक गरेपछि त कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन नै जनाए । उनले थापाको दाबी स्वाभाविक मात्र नभएर सामयिक पनि भएको भन्दै कांग्रेसले स्वतन्त्रसहित दलहरूले अघि सारेका भन्दा युवा र देश अघि बढाउने योजना भएका व्यक्ति अघि बढाउँछ भनेर देखाउन पार्टीले नै त्यस्तो गर्नुपर्ने धारण नै सार्वजनिक गरेका थिए ।
नेपाली कांग्रेसमा पार्टी सभापति नै संसदीय दलको नेता पनि हुने विगतको अभ्यास हेर्दा वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा आफैँले बन्दिन भनेर घोषणा नगर्दासम्म संसदीय दलका नेतामा अरुको सम्भावना छैन् । यसबाहेक यसपटक देउवा पत्नी आरजू राणा देउवाको पनि आकांक्षा अनौपचारिक रूपमा सार्वजनिक भइरहेको छ । प्रधानमन्त्री देउवाले नै त्यसको तयारी गरेको भन्दै कांग्रेस पदाधिकारीबाट सार्वजनिक भएको चर्चा सार्वजनिक सञ्चारमाध्यममै बहस हुने चरणमा पुगिसकेको छ ।
कांग्रेसमा प्रधानमन्त्रीका अर्का दावेदार हुन संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका वरिष्ठ नेता डा। शेखर कोइराला । उनले आफु प्रधामन्त्रीको दावेदार रहेको कुरा बाहिर खोलेका त छैनन् । सभापतिको दावेदार भएकाले आगामी प्रधानमन्त्री कोइरालालाई दिनुपर्छ भन्ने जमात पनि कांग्रेसमा ठूलै छ । यता, देउवा अन्तिम पटकका लागि सभापति भएको र उनी शक्तिमा हुँदै स्थापित नगरे देउवा विरासत नजोगिने विश्लेषणसहित देउवा नजिककाहरू आरजूलाई प्रधानमन्त्री बनाउन जित सुनिश्चित हुने निर्वाचन क्षेत्रकै खोजीमा जुटेका छन् । यसले कांग्रेसमा अबको प्रधानमन्त्री उमेदवार को रु भन्ने प्रश्न उठाएको छ ।
चुनावमा अहिलेकै तयारी हेर्दा कांग्रेस एक्लै लड्ने देखिएको छैन् । कांग्रेससँग माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँगको गठबन्धन छ । ५ दलले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रलाई कतिकति सिट राखेर बाँडफाँट गर्ने भन्ने सहमति भइसकेको छैन । निर्वाचनपश्चात् पनि गठबन्धनलाई कायम गर्ने भनिए पनि कस्को नेतृत्वमा सरकार बनाउने भन्ने सझदारीसमेत निर्माण भएको छैन । तर, कांग्रेस नेताहरू आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्छन् ।
केही दिनअघि महामन्त्री गगन थापाले पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सार्वजनिक कार्यक्रममा उद्घोष गरेका थिए । कांग्रेस प्रवक्ता प्रकाशशरण महत अर्को व्यक्तिका विषयमा निर्णय नहुँदासम्म पार्टीबाट सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको स्वाभाविक आकांक्षी भएको बताउँछन् । प्रधानमन्त्रीको आकांक्षी बढे पनि कांग्रेसभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अघि बढाउँदा जनतामा नैराश्यता बढ्ने भय पार्टीभित्र इतर समूहका नेताहरूमा छ । उनीहरू पहिलो र ‘टेस्टेट’ पुस्ताबाट देश र पार्टीले लिनुपर्ने लाभ लिइसकेको भन्दै पुस्तान्तरणको बहस चलिसकेको दाबी गरिरहेका छन् ।
कांग्रेस नेता गुरुराज घिमिरे प्रधानमन्त्रीमा व्यक्ति अघि सार्नुको उद्देश्य त्यो व्यक्तिलाई हेरेर जनतामा उत्साह आओस् र भोट पनि बढोस् भन्ने भएको भन्दै त्यस्तो अवस्था निर्माणका लागि सरकारमा गएर टेस्ट नभएका व्यक्ति वा युवा पुस्ता आवश्यक हुने बताउँछन् । देउवाको विकल्पमा डा। शेखर कोइराला वा महामन्त्री गगन थापा उपयुक्त पात्र भएको उनको बुझाइ छ । आसन्न निर्वाचनका लागि पार्टीले प्रधानमन्त्रीका रूपमा कुनै नेतालाई अघि सारेर वा घोषणा गरेर जाने संकेत भने नदेखिएको उनको तर्क छ । श्रोत- नेपालबहस