सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अवैध संरचना हटाउन थालेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले यसअघि अवैध संरचना हटाउन दिएको एकहप्ताको समय सकिएकाले आजबाट यस्ता सरचना हटाउन थालेको बताए।।
नगरपालिकाले वीरेन्द्रनगर ६ मंगलगढी चौकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विदयुत नेपाल टेलिकमका पोल हटाउन शुरु गरेको उनले बताए।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र मंगलगढी हुँदै गणेशचौकसम्मको सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि सूचना जारी गरेको थियो।
नगरपालिकाले अवैध संरचनासहित सड़क क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने जनाएको छ ।
प्रदेशको पूर्वाधार विकास निर्देशनालयले मंगलगढ़ी,गणेशचोक ,वीरेन्द्रचौक, भानुचौक,हुलाक ,चोक राम मन्दिर ,वीरेन्द्रचौक ,खोर्के खोला लाइनसम्मको सडक स्तरोन्नती गर्न बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले सडक किनाराका अवैध संरचना हटाएपछि डबल लेनको सड़क निर्माणको काम सुरु गरिने निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका ईन्जिनियर सूर्य शाहीले मुख्य बजार क्षेत्रको सड़क निर्माण लागत करिव १३ करोड ६७ लाख रहेको बताए ।
उनले ८३४ मिटर लम्बाइसहित सडकको १५ मिटर चौडाइसम्म कालोपत्रे गरिने र बाँकी पार्किङलागि रहने बताए।