सुर्खेत- कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत प्राधिकरणले सट्टाभर्ना वापत जग्गा दिनेभएपछि निर्माणको बाटो खुलेको हो।
हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राद्यिकरण प्रयोग गरे वापत अर्को जग्गा निकुञ्जलाई दिनका लागि प्रक्रिया सुरु भएपछि अवरोध हटेको कर्णाली प्रदेश विद्युत प्राद्यिकरणका प्रमुख शम्भु कुसियात यादवले बताउनुभयो।
एकसय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन कोहलपुरदेखि सुर्खेतसम्म एक सय ६२ वटा पोल राख्नुपर्ने हुन्छ।
जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र ७४ वटा पोल गाड्नुपर्ने विद्युत प्राधिकरणले जनाएको छ।
जसमा ७४ पोलका लागि ४३ हेक्टर जमिन आवश्यक पर्छ।
प्राधिकरणका अनुसार प्रसारणलाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटानमा पर्दछन्। आयोजना निर्माण क्षेत्रमा सुर्खेतको बीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेँसी नगरपालिकासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छ।
कर्णालीमा २०४५ सालमा जडान गरिएको ३३ केभी प्रसारण लाइनको भरमा विद्युत सेवा सञ्चालन भइरहेको छ।
दुई वर्षअघि रु ६० करोडमा ठेक्का लागेको प्रसारण लाइनको काम भदौमा नौ महिनाका लागि फेरि थप गरिएको छ।
प्रसारण लाइन निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले लिएको छ।
उसले प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ।