काठमाडौं- प्रदेशमा मुख्यमन्त्रीको भागवण्डा मिलाउन सत्ता गठबन्धनका दलहरू बैठकको तयारीमा छन् ।
प्रदेश १ को सरकार बनाउन आज अन्तिम दिन भएकोले सत्ता गठबन्धनलाई सहमति छिटो गर्न दबाब परेको हो । त्यही दबाबका कारण आज १० बजे दलहरूबीच छलफल हुन लागेको हो ।
सत्ता गठबन्धनआवद्ध दलका नेताहरूको भनाइमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने विषय र प्रदेशको मुख्यमन्त्री भागवण्डाका लागि आज छलफल हुन लागेको हो ।
प्रदेश १ मा एमाले र माओवादी केन्द्रको दाबी रहेको छ भने कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्रको दाबीका कारण सहमति जुटेको छैन । बागमती प्रदेशमा राप्रपाले दाबी गरेपछि गठबन्धनमा सकस परेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमालेले चार र माओवादीले दुईवटा मुख्यमन्त्री लिने सहमति भएको थियो । त्यसअनुसार माओवादीले सुदूरपश्चिम र लुम्बिनीमा दाबी गरेको छ । मधेस प्रदेशमा जसपा र जनमतलाई मुख्यमन्त्री दिने र बाँकी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने अनौपचारिक सहमति थियो ।
प्रदेश १ मा माओवादीले दाबी नछोडेपछि आज अन्तिम दिनसम्म सहमतिको सरकार बनाउन सकस परिरहेको छ । प्रदेश १ मा एमालेका हिक्मत कार्की र माओवादीका इन्द्र आङ्बो दाबेदार देखिएका छन् । सबै प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरिसकेका छन् ।