सुर्खेत – सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका लागि विरेन्द्रनगर नगरपालीकाको ध्यानाकर्षण गराइएको छ । नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल र विरेन्द्रनगर मानव अधिकार रक्षक सञ्जालले संयुक्त रुपमा मंगलबार ध्यानाकर्षण पत्र बुझाएका हुन ।
सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन को परिच्छेद –३ को दफा (११) को (३) मा कसैले पनि सार्वजनीक स्थलमा सुर्तिजन्य पदार्थ विक्रि वितरण गर्न नपाइने उल्लेख गरेपनि नियन्त्रण नभएको भन्दै ध्यानाकर्षण गराइएको विरेन्द्रनगर मानव अधिकार रक्षक सञ्जालका सदस्य दिर्घराज छन्तेलले बताउनु भएको हो ।
ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, “विभिन्न मन्त्रालय, सरकारी कार्यालय, संघसंस्था र विद्यालय सँगै जोडिएका घर तथा पसलहरुमा खुलेआम रुपमा सुर्तिजन्य पदार्थ विक्रि वितरण भैरहेको देखिन्छ । जसले यस ऐनको उपहास गरि प्रदेशको राजधानी रहेको विरेन्द्रनगर सहरलाई स्वस्थ, स्वच्छ र नसामुक्त हुनबाट वञ्चित गरेको अवस्था छ । जसको प्रत्यक्ष असर कलिला बालबालिकामा परिरहेको छ । जसका कारण बालबालिका सुर्तिजन्य पदार्थ सेवन गर्न प्रोत्साहन गर्ने वातावरणमा हुर्किरहेका छन् ।
साथै सार्वजनिक स्थल र सरकारी कार्यालय परिसरमा सुतिजन्य पदार्थको खोलहरु जथाभावी फालेर वातावरण प्रदुषणसँगै सार्वजनिक स्थल कुरुप बनेको अवस्था छ । तसर्थ सुर्तिजन्य पदार्थको बिक्रि-वितरण रोक्न सार्वजनिक स्थलहरुमा स्थलगत अनुगमन गरि ऐन नियम विपरित कार्य गर्ने गराउने जो कोहिलाई अविलम्ब कारवाहिको दायरामा ल्याउनका लागि पहल गर्न यो ध्यानाकर्षण पत्र पेश गरिएको व्यहोरा अनुरोध गर्दछाैँ
।” ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी) ले सुर्तिजन्य पदार्थ बिक्रि वितरणको सम्बन्धमा अनुगमन गर्ने बताउनु भयो । साथै उहाँले यदि बिक्रि वितरण गरेको पाइएमा कानुनी दायरामा ल्याउने धारणा राख्नुभएको थियो ।
एक फरक प्रसंगमा जवाफ दिनुहुदै नगर प्रमुख भण्डारीले सञ्जालले उठाएका महत्वपुर्ण सवाल हरुवारे सचेत रहेको भन्दै नगरपालिका तहबाट हुनसक्ने नितिगत तथा कार्यगत प्रक्रियामा लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।