सुर्खेतका स्थानीय खोला तथा नदीबाट अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढेको छ ।आफूखुसी नदीजन्य पदार्थ उत्खनन गरी चोरी निकासी बढेपछि सुर्खेत प्रहरीले निगरानी बढाएको हो।
अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन निकासी कार्यलाई रोक्ने क्रममा जिल्ला प्रहरी कार्यालयले दुई वटा माल बाहक गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ।
सुर्खेतका प्रहरी प्रमुख एसपी योगेन्द्रसिंह थापाले जिल्लाका विभिन्न स्थानमा अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्य भइरहेको जानकारी पाइएपछि निगरानी बढाइएको बताए।
उनले कानून विपरीत अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्यमा सलग्नहरुको खोजीसँगै नियमन कार्य जारी राखिएको जनाए।
उनले स्थानीय प्रहरीकै मिलेमतोमा बालुवा गिट्टी, ढुङ्गा तस्करी भइरहेको आरोप निराधार रहेको भन्दै कुनै पनि प्रहरीको संलग्नता रहेको पाइए कडा कारबाही हुने बताए
अवैध नदीजन्य पदार्थ दोहन भइरहेको जानकारी जोकोहीले पाउने बित्तिकै प्रहरीलाई सूचना दिन समेत उनले आग्रह गरे।
यता मनलागी ढंगले ढुङ्गा गिट्टी बालुवा उत्खनन हुन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसै वर्षदेखि मेसिन प्रयोग गर्न नपाइने नियम बनाएको छ।
प्रत्यक्ष मानव श्रम बेल्चाले बालुवा गिटी, ढुङ्गा उत्खनन गर्दा समय बढी लाग्नुका साथै फाइदा कम हुने हुँदा मेसिनको प्रयोग गरी चोरी तस्करी हुने गरेको स्थानीयको भनाइ छ।
यता अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन कार्य रोक्न स्पेसल टास्क फोर्स गठन गरि अनुगमन कार्य बढाइने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए।
नगरपालिकाले गरेको वातावरणीय प्रभाव मूल्याङ्कनमा समेत ढुङ्गा–गिट्टी–बालुवा सङ्कलन कार्यका लागि मेसिनको प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरेको उनको भनाइ छ।
उता सदरमुकाम आसपासका खोला तथा नदीबाट अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्यको नियन्त्रणमा प्रहरीको समेत सक्रियता बढेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्
वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र बराहताल गाउँपालिकाबाट अवैधरुपमा बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी चोरी निकासी गर्ने कार्य अहिले पनि रोकिएको छैन।
तस्करले रातको समयमा खोला तथा नदी किनारमा मेसिन अर्थात् स्काभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा गिट्टी, ढुङ्गाको उत्खनन कार्य जारी राखेको स्थानीयको भनाइ छ ।