प्रचण्डको आक्रोश: “जनताको राउण्ड किक कस्तो हुन्छ, ओलीले देख्नेछन्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले संविधानविपरीतका अभिव्यक्ति दिएको भन्दै त्यसको भण्डाफोर गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेताहरूले संविधान विपरीत बोल्दै जनयुद्धलाई बदनाम गर्न खोजेको आरोप लगाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिएको “प्रचण्डलाई राउण्ड किक हानेको” अभिव्यक्तिको जवाफ दिँदै प्रचण्डले भने, “प्रधानमन्त्री जस्तो व्यक्तिले यस्ता कुरा गर्छन्, अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।”
प्रचण्डले संविधानमा माओवादी जनयुद्धलाई ‘सशस्त्र संघर्ष’ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको भए पनि, सत्तारुढ दलका केही नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, र आतंकको रूपमा चित्रण गर्न खोजेको बताए। उनले भने, “संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ। संविधानमा रहेको यथार्थलाई जनतामा पुर्याउनु आवश्यक छ।”
उनले सत्तारुढ दलका नेताहरूले संविधानविपरीतका अभिव्यक्तिहरू दिन थालेकोमा आक्रोश व्यक्त गर्दै, माओवादी आन्दोलनको वास्तविकता जनतासमक्ष पुर्याउन कार्यकर्तालाई आह्वान गरे।
यो घटना माओवादी आन्दोलन र संविधानको बिषयलाई लिएर देशभर नयाँ बहसको सुरुवात गरेको छ।