फेरि पनि हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का ६५ वर्षीय वाङ्दी गुरुङको मृत्यु जङ्गली हात्तीको आक्रमणमा भएको छ। स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्कने क्रममा गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार, आज बिहान जङ्गलबाट घाँस काटेर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ। जङ्गली हात्तीले लछारपछार गरेर कुल्चिँदा गुरुङको मृत्यु भएको समाचार प्राप्त भएको छ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा टोली परिचालन गरेको र सुरक्षा व्यवस्था मिलाएको पनि चन्दले बताएका छन्। मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ।
झापामा विगतका केही वर्षदेखि जङ्गली हात्तीको आक्रमणका कारण स्थानीय बासिन्दाहरूको मृत्यु हुने घटनाहरू बढ्दो क्रममा रहेका छन्। जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न, तथा गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको पाइएको छ।