“पाठेघरको बायोप्सीका क्रममा बेहोस बनाइएकी महिलाको मृत्यु: स्वास्थ्यकर्मीको लापरबाहीको आरोप”
भरतपुर अस्पतालमा पाठेघरमा देखिएको समस्याको उपचार गर्न एनेस्थेसिया दिइएकी महिलाको मृत्यु भएको छ।
नवलपुरको गैंडाकोछ–५ ओमशान्ति चोक घर भएकी ३९ वर्षीया सम्झना काफ्ले मंगलबार दिउँसो पाठेघरको समस्याको उपचारका लागि अस्पताल पुगेकी थिइन्।
पाठेघरमा पोलिप देखिएपछि बायोप्सी गर्न उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
‘दिउँसो २ बजे भर्ना गरेर एनेस्थेसिया दिइयो। त्यसपछि कोल्टो फर्काएर राखियो। दुरबिनमार्फत काम सुरु गर्नमात्रै थालिएको थियो बिरामीको मृत्यु भएछ,’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले भने, ‘कसरी त्यस्तो भयो भनेर बुझिरहेका छौं।’काफ्लेको राति १० बजे मृत्यु भएको थियो।
डा.पौडेलले बिरामीको मुटुमा पनि समस्या रहेका कारण बेहोस बनाउने औषधीको असर परेको हुनसक्ने बताए।
काफ्लेका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।
‘मृतकका आफन्तहरु हिजो राति नै आउनुभएको थियो। अहिले पनि आउनुभएको छ। जाहेरी दिने भन्ने सुनेको छु। उहाँहरु कानुनअनुसार जान पाउनुहुन्छ। अनुसन्धान त भइहाल्छ। गल्ती देखिए कारबाही पनि भइहाल्छ,’ डा.पौडेलले भने।