खाजा घरमा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जान पक्राउ, ५ जनाको उद्दार
काठमाडौंको कोटेश्वरमा सञ्चालित “कमलामाई खाजा घर एण्ड गेस्ट हाउस” मा बालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना होटल सञ्चालक पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले २८ वर्षीय गोरे नेवा खड्गी र ४२ वर्षीय राजु शाहीलाई पक्राउ गरेको हो। उनीहरू क्रमशः रामेछाप र सिन्धुलीका निवासी हुन्।
प्रहरीका अनुसार, उनीहरूले बालिकाहरुलाई होटलको काम दिने बहानामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लगाउने गरेको पाइयो। प्रहरीले गेस्ट हाउसबाट पाँच बालिकाहरूको उद्दार गरेको छ। ब्यूरोका प्रवक्ता गौतम मिश्रका अनुसार, उनीहरूले अन्य होटल गेस्ट हाउस तथा ग्राहकले बोलाएको ठाउँमा पनि बालिकाहरूलाई पठाउने गरेको पुष्टि भएको छ।
यस घटनाले राजधानीको होटल व्यवसायको आडमा चलिरहेको अवैध यौन व्यापारको पर्दाफास भएको छ। यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको सामना गराउने उद्देश्यले प्रहरीले गहिरो अनुसन्धान अघि बढाइरहेको जानकारी दिएको छ।