सहारा सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि चितवन पुगेका छन्।
मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा हाजिर हुन चितवन आइपुगेका हुन्। उनी चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् र पार्टी कार्यकर्तासँग छलफलमा व्यस्त रहेका छन्, जिल्ला संयोजक कृष्णप्रसाद भुसालले जानकारी दिए।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार रविको उपस्थिति बारे औपचारिक पत्र प्राप्त भएको छैन।
आज रविको बयानपछि थुनछेक बहस हुनेछ। त्यसपछि न्यायाधीशले साधारण तारेखमा छोड्ने, धरौटीमा छोड्ने वा थुनामा पठाउने निर्णय गर्नेछन्।