सहकारीबाट आफ्नै पैसा झिक्न नपाउँदा उपचार अभावले मृत्यु भएको भन्दै प्रदर्शन
सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा मृत्युवरण गर्न परेको भन्दै काठमाडौंमा आइतबार प्रदर्शन गरिएको छ । वीर अस्पतालमा ५ लाख रुपैयाँको अभावले राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको उनका आफन्तहरूले जनाएका छन् ।
सहकारीमा जम्मा गरेको पैसा नै झिक्न नपाएर मृत्यु हुनु विडम्बनापूर्ण भएको राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले बताए । अहिले प्रदर्शनकारीहरू शान्ति वाटिका र भद्रकाली क्षेत्रमा कफिन बोकेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
काठमाडौंको न्युरोडमा रहेको युवा बचत तथा ऋण बहुउद्देश्यीय सहकारीमा स्थापितले १ करोड ३६ लाख रुपैयाँ जम्मा गरे पनि आफ्नै उपचारका लागि पैसा झिक्न नपाएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए । उनका अनुसार अहिले स्थापितको शव वीर अस्पतालमै रहेको छ । सडकमा प्रदर्शन भएपछि प्रहरीले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरेको पनि उनले जानकारी दिए । स्थापित स्नायुसम्बन्धी समस्याले ग्रसित रहेको पनि उनले बताए ।
उहाँलाई ब्रेन ह्यामरेज भएको थियो । ५ लाख रुपैयाँ नहुँदा उहाँको अपरेसन हुन सकेन । १६ महिनादेखि उहाँ आफ्नै पैसा निकाल्न धाइरहनु भएको थियो,’ अध्यक्ष केसीले भने ।