रोनाल्डोको चुनौती: ‘सब्सक्राइबरमा मिस्टरबिस्टलाई हराउँछु
चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले हालै युट्युब च्यानल खोल्दै अनलाइन दुनियाँमा पनि तहल्का मच्चाइरहेका छन्। युट्युब च्यानल खोल्नासाथ उनले धेरै प्रशंसकहरूको ध्यान खिच्न सफल भएका छन्, जसले उनको च्यानललाई तीव्र गतिमा सब्स्क्राइब गर्न थालेका छन्। रोनाल्डोको युट्युब च्यानलले छोटो समयमै पाँच करोड ५८ लाख सब्सक्राइबर पुर्याएको छ। यो तथ्यले उनी भविष्यमा युट्युबको अर्को ठुलो नाम बन्न सक्ने भविष्यवाणीलाई बलियो बनाइरहेको छ।
हाल युट्युबमा सर्वाधिक सब्सक्राइबर भएका व्यक्ति भने मिस्टरबिस्ट हुन्। करिब दुई महिनाअघि उनले ३० करोड सब्सक्राइबर पार गरेर इतिहास रचेका थिए, र अहिले उनको सब्सक्राइबर संख्या ३३ करोड १० लाख पुगेको छ। यसैले मिस्टरबिस्टसँग प्रतिस्पर्धा गर्न गाह्रो देखिए पनि रोनाल्डोले आफ्नो आत्मविश्वास गुमाएका छैनन्।
एक अन्तर्वार्तामा रोनाल्डोले भने, “मैले हराउनुपर्ने नै मिस्टरबिस्ट हुन्।” उनका यी शब्दहरूले संकेत गर्छन् कि उनी युट्युब यात्रामा पनि शिखरमा पुग्न चाहन्छन्। यद्यपि मिस्टरबिस्टलाई उछिन्नु चुनौतीपूर्ण हुनेछ, तर रोनाल्डोको नाम, प्रतिष्ठा र असीमित फ्यानबेसलाई ध्यानमा राख्दै, उनको च्यानलले निकट भविष्यमा उल्लेखनीय वृद्धि गर्न सक्ने सम्भावना छ।
रोनाल्डोको यो प्रतिस्पर्धी सोचले खेल मैदानमा मात्र होइन, डिजिटल प्लेटफर्ममा पनि उनी उच्च स्थानमा पुग्न खोजिरहेका छन् भन्ने कुरा प्रस्ट हुन्छ। तथापि, मिस्टरबिस्टको सब्सक्राइबर संख्या यति धेरै छ कि रोनाल्डोलाई त्यो तहमा पुग्न अझ धेरै मेहनत गर्नु पर्नेछ।