दशैँमा नयाँ नोटको आस टुट्यो: राष्ट्र बैंकको निर्णयले सर्वसाधारण निराश
नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नछाप्ने, सुकिला नोटको सटही सुविधा मात्र दिने निर्णय गरेको छ। नोट छपाइ खर्च कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ नोटको वितरण रोकेर पुराना तर सुकिला नोटहरू बैंकमार्फत सटही गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार दशैँको समयमा सामान्यतया आवश्यक पर्ने साना तथा ठूला दरका नोटहरू बजारबाट फिर्ता आएका सुकिला नोटहरू मार्फत वितरण गरिनेछ। यस निर्णयको मुख्य कारण नयाँ नोट छापेर वितरण गर्दा तिनको आयु छोटो हुने र छिट्टै बिग्रने भएकाले खर्चको व्यवस्थापन गर्न सो कदम उठाइएको हो। सामान्यतया, नोटको आयु तीनदेखि चार वर्षसम्म हुने मानिन्छ। यसै कारणले, नयाँ नोटको साटासाट रोकेर फिर्ता आएका सुकिला नोटहरू नै चाडपर्वको लागि प्रयोग गरिने जनाइएको छ।
राष्ट्र बैंकले दशैँमा नयाँ नोट छाप्न रोकेको भए पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्मका नोट साट्ने सुविधा भने पुरानै नियमअनुसार दिन सकिने बताएको छ। मुख्यतया ५, १०, २०, ५०, र १०० रुपैयाँका नोट सटही गरिनेछ। यो निर्णयसँगै बैंकले हरेक वर्ष नयाँ नोट छाप्नमा हुने ठूलो आर्थिक खर्चलाई घटाउने प्रयास गरेको हो। नयाँ नोट छपाइका लागि प्रत्येक वर्ष एक अर्ब ३० करोड रुपैयाँ खर्च हुँदै आएको तथ्याङ्क राष्ट्र बैंकले प्रस्तुत गरेको छ।
सुकिला नोट सटहीका लागि बैंकहरूले विशेष व्यवस्था गर्ने जनाइएको छ। यसबाहेक, राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विशेष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ, जसले नगदको प्रयोगलाई कम गर्दै डिजिटल भुक्तानीका माध्यमहरूको उपयोगलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ।
राष्ट्र बैंकले दशैँजस्ता चाडपर्वमा नोटको वितरणलाई व्यवस्थापन गर्न र खर्च घटाउन यस्तो निर्णय लिएको हो। बजारमा नयाँ नोट नआउँदा यसको प्रभावलाई न्यून बनाउन सुकिला नोटको सटहीमार्फत सर्वसाधारणलाई सेवा दिने राष्ट्र बैंकको योजना छ।
 
                                                            
 
         
         
         
         
         
         
         
         
         
    
                                                                                           
    
                           
                                                       
    
    
                                           
                                           
                                           
                                           
                                           
                                          

